इटहरी । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार नगर भित्रका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने विषयगत कार्यशाला आयोजना गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार आधारभूत तह कक्षा १ देखि ८ सम्म अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न विद्यालयहरूको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो। बिहीबार र शुक्रबार गरी २ दिन सम्म जारी रहने कार्यशालामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयका शिक्षकहरू सहभागी छन्।
कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न ५ स्थानमा केन्द्रहरू तोकिएको छ, जसअन्तर्गत वडा नं १ र २ का शिक्षकका लागि आदर्श माध्यमिक विद्यालय चतरा, वडा नं ३, ४ र ५ का लागि जगन्नाथ डेनराज जनता (जडेज) माध्यमिक विद्यालय कालाबञ्जर, वडा नं ६, ७ र ८ का लागि महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टी, वडा नं ९ र १० का लागि प्रकाश माध्यमिक विद्यालय प्रकाशपुर र वडा नं ११ का शिक्षकका लागि जनता माध्यमिक विद्यालय मधुवनमा विषयगत कार्यशाला सञ्चालन भइरहेको छ ।
सामुदायिक र धार्मिक दुवै विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको यस कार्यशालाले नगरको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।


