इटहरी ।  झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय युवा उमेश खातीको एउटै सपना थियो– चुहिन लागेको घरको छानो फेर्ने र एउटा सानो पक्की घर बनाएर वृद्ध बाबाआमा र सन्तानलाई खुसी राख्ने ।

यही सपनाका साथ उहाँ २०८१ साल मंसिर ११ गते वैदेशिक रोजगारीका लागि दुबईको अबुधाबी उड्नु भएको थियो । उहाँ विदेशिँदा श्रीमती तीर्थकुमारी गर्भवती हुनुहुन्थो । थपिएको पारिवारिक जिम्मेवारी र आर्थिक अभावका बीच नयाँ सपना बोकेर उहाँ परदेश लाग्नु भयो । उहाँ अबुधाबीको आमफोस एन्ड क्लब होटलमा क्लिनरका रूपमा काम गर्न जानु भएको हो । विदेश पुगेको ११ दिनमा उमेशले छोरी जन्मिएको खुसीको खबर पाउनु भयो । दिनहरू सामान्य रूपमा चल्दै थिए । तर, करिब एक महिनाअघि उहाँलाई अचानक उच्च ज्वरो आयो । एकदिन शौचालय जाने क्रममा उहाँ अचानक ढलेपछि क्याम्प बोसले उहाँलाई अस्पताल पुर्‍याए ।

तेह्र दिनपछि होस खुल्दा उहाँले आफूलाई घातक रोग लागेको थाहा पाउनुभयो । चिकित्सकहरूका अनुसार उहाँलाई मेनिन्गोकोकलु (रगतमा संक्रमण फैलिने रोग) भएको थियो । संक्रमणका कारण उहाँका दुवै हात र दुवै खुट्टा कुहिन थाले । गम्भीर स्वास्थ्य अवस्थाका बीच उहाँलाई नेपाल फर्काइयो । नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा गत शनिबार उहाँको दुवै हात र खुट्टा काटिएको छ ।

हाल उहाँ हातखुट्टा गुमाएर झापास्थित घर आइपुग्नु भएको छ । बिहीबार साँझ मात्र घर आइपुगेका उमेशलाई हेर्न आउनेहरूको गाउँमा घुइँचो लागेको छ । उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाइरहेका छन् । उमेशका बुबा टेकबहादुर खातीका अनुसार छोराको उपचार खर्च जुटाउन घरमा रहेका भैँसी, पाडा र बाच्छासमेत बिक्री गर्नुपरेको छ ।