इटहरी ।  सुनसरीको देवानगंज गाउँपालिका–१ स्थित मध्यहर्षाही क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामानसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ।

शुक्रवार बिहान करिब ०४स्१० बजेको समयमा सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो। गस्ती टोलीलाई देखेपछि दुई वटा मोटरसाइकलमा रहेका व्यक्तिहरु सामान छाडेर फरार भएका थिए।

बरामद गरिएको सामानमा करिब ७ लाख ३० हजार रुपैयाँ बराबरको डबल बेडका तन्ना सेटसहित १२० सेट कपडा, वाईफाईका राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र चार बोरा सुर्ती रहेका छन्। साथै, को १३ प ७१३४ र द्यच् ३९ थ् ०३२२ नम्बरका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ।

यसरी बरामद गरिएका मोटरसाइकल र अन्य सामानको कुल अनुमानित मूल्य ९ लाख ३० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीलाई सीमा सुरक्षा गुल्म कप्तानगंज, सुनसरीमा राखिएको छ भने फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको जनाइएको छ।