इटहरी । शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरणको इलाका प्रहरी कार्यालय, लेटाङले औपचारिक शुभारम्भ गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले एक औपचारिक कार्यक्रमका बिच ड्रोन प्रविधिको समुद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी नायव महानिरीक्षक घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज–उद्धार कार्यलाई सुदृढ बनाउँदै शान्ति–सुरक्षा व्यवस्थामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले लेटाङ क्षेत्रको भौगोलिक जटिलता र बढ्दो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै ड्रोन प्रविधि आवश्यक भएको उल्लेख गरे । उनले यस प्रविधिले प्रहरी कार्यलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । साहले यसको प्रयोग केवल प्रहरी काम कारवाहीमा मात्र सीमित रहने र प्रयोगका क्रममा व्यक्तिको गोपनीयता तथा मानवअधिकारको पूर्ण पालना गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले यस किसिमका प्रविधिमैत्री पहलहरूलाई सफल बनाउन सबै पक्षको सहयोग, समन्वय र सहभागिता अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै ड्रोन प्रविधिको प्रभावकारी प्रयोगमार्फत शान्ति–सुरक्षा व्यवस्थापनमा थप सुदृढता आउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अधिकारी, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ लगायत बिभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, स्थानीय तथा सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।


