इटहरी । ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, यात्रु सुरक्षा, तीव्र गति नियन्त्रण तथा ओभरलोडका कारण हुन सक्ने जोखिमबारे जानकारी गराइएको थियो। साथै, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा राख्न र जिम्मेवार तथा अनुशासित ढंगले सवारी सञ्चालन गर्न आग्रह गरे।

उनले ट्राफिक नियमको पालना नै दुर्घटना न्यूनीकरणको प्रमुख आधार रहेकोमा जोड दिए।