इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण सुरु गरिएको छ।
वराहक्षेत्र उद्योग वाणिज्य संघ, चक्रघट्टीको आयोजनामा नापतौल शिविर सञ्चालन गरिएको हो। नगरका चतरा, बयरवन, भरौल, कालाबञ्जर, प्रकाशपुर बजार र चक्रघट्टीस्थित संघको कार्यालयमा वैशाख ८ देखि ११ गतेसम्म शिविर सञ्चालन गरिएको वराहक्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी श्रेष्ठले बताउनुभयो।
क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको सहयोगमा नगर क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका ढक, तराजु, लिटर, मिटरलगायत नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण गरिएको छ। आठ वर्षपछि नापतौलमा प्रयोग भएका उपकरणहरूको जाँच गरी नवीकरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार व्यापारीहरूले व्यापारिक लेनदेनमा प्रयोग गर्ने तौल तथा मात्राको परिमाण सुनिश्चित गर्न नापतौल यन्त्रहरूको जाँच गरी टाँचा लगाइएको छ। वराहक्षेत्र उद्योग वाणिज्य संघ, चक्रघट्टीमा करिब २५० जना व्यापारी आबद्ध छन्।
लामो समयसम्म प्रयोगमा रहँदा नापतौल उपकरणहरू घोटिने, खिइने र वास्तविक तौलमा फरक पर्न सक्ने भएकाले गुणस्तर तथा नापतौल कार्यालयबाट जाँच गरी प्रमाणीकरण गर्ने गरिएको हो। नापतौल उपकरणको चेकजाँच गराउन व्यापारीहरू विराटनगर पुग्नुपर्ने भएकाले विगत केही वर्षदेखि नियमित जाँच र नवीकरण हुन सकेको थिएन। घरदैलोमै चेकजाँच र नवीकरणको व्यवस्था मिलाइएपछि व्यापारी र उपभोक्ता दुवै लाभान्वित भएको उद्योगी–व्यापारीहरूले बताएका छन्।
प्रत्येक वर्ष चेकजाँच गर्नुपर्ने भए पनि दूरी र नियमनको कमीका कारण वराहक्षेत्रका अधिकांश व्यापारीहरूले नवीकरण नगरी उपकरणहरू प्रयोग गर्दै आएका थिए। नेपाल सरकारले तोकेको मापदण्डअनुसार नापतौलका उपकरण प्रयोग गर्न र दण्ड–जरिवानाबाट जोगिन शिविरमार्फत सचेतना दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरका चार सदस्यीय टोलीले चेकजाँचसँगै नवीकरणको प्रमाणपत्र वितरण गरेको छ। वराहक्षेत्र नगरभित्र साना–ठूला गरी करिब तीन हजार व्यापारीले दैनिक व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन्।


