इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा, अस्थायी संरचना तथा घरको पेटीमा राखिएका सामान सात दिन भित्र व्यवस्थापन अल्टिमेटम दिएको छ ।

नगरपालिकाले मेची राजमार्गअन्तर्गत बजार क्षेत्रमा बढ्दो अव्यवस्थाले आवागमनमा समस्या सिर्जना गर्नुका साथै नगरको सौन्दर्यमा नकारात्मक असर परेको भन्दै सातदिन भित्र हटाउन अल्टिमेटम दिएको हो । नगरपालिकाका अनुसार पुराना भत्काइएका घरहरूमा पाल टाँगेर बनाइएका अस्थायी टहरा, पसल तथा अन्य संरचनाले सडक किनार क्षेत्र अस्तव्यस्त बनेको छ । यसका साथै पसल अगाडि पेटीमा बिक्रीका लागि राखिएका सामग्रीले पैदल यात्रुलाई हिँडडुल गर्न कठिन बनाएको र फोहोर तथा वातावरणीय समस्या समेत बढाएको बताइएको छ ।

त्यसैगरी घरको बार्दली तथा माथिल्लो भागमा सजावटका लागि राखिएका फूलका गमलाहरू असुरक्षित रूपमा राखिँदा ती झरेर सर्वसाधारण घाइते हुने जोखिम बढेको नगरपालिकाले जनाएको छ । विशेषगरी भीडभाड हुने बजार क्षेत्रमा यस्ता गमलाले दुर्घटना निम्त्याउन सक्ने भएकाले सुरक्षित व्यवस्थापन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

तोकिएको समयसीमाभित्र व्यवस्थापन नगरेमा प्रचलित कानुन बमोजिम नगरपालिकाले आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएको छ । नगरपालिकाले बजार क्षेत्रलाई सुरक्षित, सफा र व्यवस्थित बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको जनाएको छ ।