इटहरी। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोली सहित एक जनालाई पक्राउ गरेको छ ।
सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले बसिरहेको प्रहरीमा खबर पुुगेपछि प्रहरी टोलीले संकास्पद देखिएका ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको थियो । पक्राउ पर्नेमा इलाम नगरपालिका–५ बिब्ल्याँटे बस्ने जितबहादुर राईका १८ वर्षीय छोरा विश्वास राई रहेको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुुभयो ।
भण्डारीका अनुुसार पक्राउ गरिएका राईको साथबाट उनले बोकेको निलो रुकस्याक झोलामा भित्र एसएलआर राइफलको ७।६२ एमएमको २५ थान गोली, चार्चर ब्रिज पाँच थान, बिन्दुलि एक थान, अलैँची टिप्न प्रयोग हुने घरेलु हतियार सिकल चारवटा, हँसिया एउटा, रेड्मि मोबाइल एक थान, आइटीएल कम्पनीको सिम र ब्याट्री नभएको कालो मोबाइल एक थान, सहित १६ हजार ७२५ रुपियाँ नगद बरामद गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय इलाममा प्रारम्भिक अनुसन्धान गर्दा राईले भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा काठमाण्डौ रत्नपार्क छेउको प्रहरी कार्यालयबाट लुटेको राउण्ड गोली भन्ने बताएको र थप अनुसन्धान जारी रहेको डिएसी भण्डारीले जानकारी दिनुुभयो ।


