इटहरी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यद्वय यज्ञमणी न्यौपाने र रजनी श्रेष्ठले मिक्लाजुङ गाउँपालिका अन्तर्गत मधुमल्ला क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

शनिबार आयोजित उक्त कार्यक्रममा उहाँहरूले स्थानीय बासिन्दाका साझा समस्या, गुनासो र विकास निर्माणका आवश्यकताका विषयमा विस्तृत छलफल गर्नुभयो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले सडक, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, रोजगारी लगायतका विविध समस्याहरू राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । सहभागी नागरिकहरूले सेवा प्रवाहमा सुधार र विकास निर्माणका कामहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।

छलफलपछि सांसदद्वयले मधुमल्ला अस्पताल र इलाका प्रहरी कार्यालयको निरीक्षण समेत गनुृभएको थियो । निरीक्षणका क्रममा स्वास्थ्य संस्थामा देखिएका सेवा तथा पूर्वाधार सम्बन्धी समस्याहरूको जानकारी लिँदै आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो प्रहरी कार्यालयको अवस्था, सुरक्षा व्यवस्था र जनशक्ति सम्बन्धी विषयमा समेत जानकारी लिइएको थियो ।

यसैगरी, नुनसरि कुइनेटार क्षेत्रमा सिँचाइ र खानेपानीको समस्या समाधानका लागि ड्याम निर्माण गर्नुपर्ने माग पनि जोडदार रूपमा उठाइएको छ । खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन र स्थानीयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन उक्त ड्याम अपरिहार्य रहेको स्थानीयको भनाइ छ । सांसद न्यौपाने र श्रेष्ठले नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानतर्फ अग्रसर हुने बताउनुभएको छ ।