इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री, पशु–चौपाया बाँध्ने कार्य तथा बिक्रि–वितरणका सामग्रीले सडक अवरुद्ध भई सवारी सञ्चालन र पैदल यात्रु आवतजावतमा समस्या भएको भन्दै ७ दिनभित्र हटाउन आग्रह गरेको छ।
उपमहानगरद्वारा जारी सूचनामा सडक दुर्घटनाको जोखिम समेत बढेकाले सडक/बाटो क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउन, पशु–चौपाया नबाँध्न तथा सडकमा अवरोध हुने कुनै पनि कार्य नगर्न नगरवासीलाई अनुरोध गरिएको छ।
सूचनाको अवज्ञा गरी सडक अवरोध हुने गरी कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
इटहरी उपमहानगरपालिकाले यसअघि पनि सडक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि विभिन्न कदम चालेपनि विभिन्न विवाह पार्टीका कार्यक्रमहरूमा सडकमा पण्डाल टाँग्ने, निर्माण सामग्री थुपार्ने गर्दा दुर्घटनाको जोखिम बढिरहेको बताउँदै इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीले दुर्घटना न्यूनीकरणका लागि सम्पूर्ण नागरिक सचेत रहन समेत अनुरोध गर्नुभयो।


