इटहरी ।  धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी चोकमा रहेको मण्डला क्याफेबाट अनलाइन जुवा तास खेल्दै र खेलाउँदै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति करिब १०ः३० बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक राधाकृष्ण दाहालको कमाण्ड तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको पीआईटीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख भिषणबाबु राईले जानकारी दिए ।

प्रहरीले उक्त क्याफेबाट अबैध वान एक्स बेट अनलाइन जुवा खेलिरहेको अवस्थामा धरान उपमहानगरपालिका –१७ का ३१ वर्षीय प्रज्वल राई, धरान उपमहानगरपालिका –१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, धरान उपमहानगरपालिका –१ का ३३ वर्षीय सुजित साह, धरान उपमहानगरपालिका –१६ का ४१ वर्षीय अशोक लिम्बु र धरान उपमहानगरपालिका –१५ का ३५ वर्षीय भवानी दाहाल रहेका छन् ।

घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।