इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माण तथा विभिन्न शीर्षकको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको नमुना भवन निर्माणका क्रममा वास्तविक मूल्याङ्कनभन्दा बढीको झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको पाइएको छ । नगरपालिका र परामर्शदाताको प्राविधिक मूल्याङ्कनअनुसार भवनको कुल लागत १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ ८ पैसा हुनुपर्नेमा विद्यालयबाट २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँ भुक्तानी भएको देखिएको छ । यसरी भवन निर्माणको नाममा मात्रै ५९ लाख २६ हजार ६८६ रुपैयाँ ९२ पैसा बढी भुक्तानी गरी भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ । अनुसन्धानका क्रममा प्रधानाध्यापक र लेखापालको मिलेमतोमा आर्थिक वर्ष २०७७र७८ देखिको नगद मौज्दातमा १६ लाख ६० हजार १०१ रुपैयाँ १९ पैसा बेरुजु देखिएको छ ।
साथै, विद्यालयको १७ लाख ९६ हजार ५२१ रुपैयाँ ६१ पैसा नगद रकम उनीहरूले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको समेत पुष्टि भएको छ । अख्तियारले दुवै प्रतिवादीउपर कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा बिगो कायम गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको छ । विद्यालयको रकम हिनामिना गरी सार्वजनिक सम्पत्तिको हानि(नोक्सानी पुर्याएको भन्दै परेको उजुरीका आधारमा आयोगले विस्तृत अनुसन्धान गरी आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।


