इटहरी । बुढीगंगा गाउँपालिकाले सुशासन, पारदर्शिता र कर्मचारी उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन सम्पूर्ण वडा कार्यालय तथा पालिकास्तरका कार्यालयहरूमा ‘ई–हाजिरी’ (इलेक्ट्रोनिक एटेन्डेन्स सिस्टम) व्यवस्था लागू गरेको छ ।
संघीय सरकारको योजना अनुरूप नेपाल सरकारका कर्मचारीहरूका लागि अनिवार्य गरिएको ई–हाजिरी प्रणालीलाई पालिकाले व्यवस्थापन गर्दै कार्यान्वयनमा ल्याएको हो । पालिकाले लागू गरेको यो प्रविधिमैत्री प्रणालीमार्फत कर्मचारीहरूको नियमित उपस्थिति, समयपालना, कार्यअनुशासन तथा अभिलेखीकरणलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । प्रत्येक १५ दिनमा अभिलेखीकरण तथा अद्यावधिक गर्नुपर्ने व्यवस्थासहित ई–हाजिरीलाई सुशासन प्रवद्र्धनको प्रभावकारी औजारका रूपमा पालिकाले अघि बढाएको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई ले संघीय सरकारको नीति अनुसार सबै सरकारी कर्मचारीका लागि ई–हाजिरी अनिवार्य बन्दै गएको र बुढीगंगाले त्यसलाई प्रभावकारी व्यवस्थापनसहित लागू गरेको बताउनुभयो । उहाँका अनुसार यस प्रणालीले सेवा प्रवाहमा पारदर्शिता, कर्मचारी जिम्मेवारी र संस्थागत अनुशासन बढाउने विश्वास लिइएको छ ।
उहाँले सुशासनका लागि प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै ई–हाजिरीले कर्मचारी उपस्थितिको निगरानी मात्र नभई प्रशासनिक कामकारबाहीलाई थप व्यवस्थित र उत्तरदायी बनाउन सहयोग पुग्ने बताउनुभयो । स्थानीय तहमा प्रविधिमैत्री प्रशासनिक अभ्यास विस्तार गर्दै बुढीगंगा गाउँपालिकाले ई–हाजिरी कार्यान्वयनमार्फत राम्रो अभ्यासको सुरुवात गरेको भन्दै यसलाई पालिकाको सकारात्मक र नमुना कामका रूपमा हेरिएको छ ।


