इटहरी । भोजपुर जिल्लाको दीर्घकालीन विकाससँग प्रत्यक्ष सरोकार राख्ने चुवार पुल निर्माणको विषय पुनः तीव्र रूपमा उठाइएको छ ।
राज्यको नेतृत्व तहमा भोजपुरको महत्वपूर्ण भूमिका रहँदै आए पनि, स्थानीय जनताले वर्षौंदेखि अपेक्षा गरेको उक्त पुल निर्माण अझै सुरु हुन नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ । सरोकारवालाहरूले अब पनि ढिलाइ भए जनआक्रोश बढ्ने चेतावनी दिएका छन् । विकासको ढोका खोल्ने आधारका रूपमा हेरिएको यस पुलले भोजपुरे जनताको संघर्ष, सपना र भविष्यलाई प्रतिविम्बित गर्ने विश्वास गरिएको छ । सोही सन्दर्भमा, हसनपुर सुनसरी सम्पर्क मञ्च को अगुवाइमा सोमबार कोशी प्रदेश सरकारसमक्ष ध्यानाकर्षण पत्र पेश गरिएको हो ।
उक्त ध्यानाकर्षण पत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवार समक्ष बुझाइएको थियो । कार्यक्रममा मञ्चका पदाधिकारी, संयोजक, सदस्यहरू, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, वडा नं. ९ हसनपुरका वडा अध्यक्ष सञ्जाल राई, व्यवसायी ,भोजपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री सिर्जना राई लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पत्र बुझाएपछि मञ्चका सचिव शम्भु राईले यो अभियान कुनै दल, वर्ग, जात वा धर्मसँग नजोडिएको स्पष्ट पार्नुभयो । चुवार पुल अब केवल पूर्वाधार आयोजना मात्र नभई भोजपुरे जनताको आशा, अधिकार र समृद्ध भविष्यसँग गाँसिएको साझा सपना बनेको छ ।


