इटहरी । वराहक्षेत्र नगरपालिकाले कालाबञ्जर र नडाह बजार क्षेत्रमा बजार अनुगमन गरेको छ ।
मङ्गलबार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलीले उक्त क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने योजनाअनुसार नियमित कार्यक्रम अन्तर्गत अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढी लिने, मूल्यमा एकरूपता नहुने तथा म्याद नाघेका वस्तु बिक्रीका लागि राखिएको भन्ने उपभोक्ताहरूबाट गुनासो आएपछि अनुगमन टोली सक्रिय भएको हो ।
अनुगमनका क्रममा वडा तथा नगरपालिकामा गर्नुपर्ने दर्ता प्रक्रिया, नापतौल नवीकरण, राजस्व रसिद, मूल्यको एकरूपता, गुणस्तरीय वस्तु तथा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलाको प्रयोग लगायतका विषयमा विभिन्न पसलहरूको अनुगमन गरिएको थियो । किराना, खाद्यान्न, फलफूल, होटल, चिसो पदार्थ र मासु पसलहरूको अनुगमन गर्दा दर्ता तथा कागजात नपुगेका र म्याद नाघेका सामग्री बिक्रीका लागि राखेका पसलहरूलाई सचेत गराइएको छ । साथै म्याद नाघेका सामग्री नष्ट गरिएको र केही व्यापारीलाई जरिमाना गरिएको प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताउनुभयो ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा प्रशासन तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र का अध्यक्ष तुलसी श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अधिकारीहरू, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।


