इटहरी । सांस्कृतिक भूमि संरक्षणका लागि आवश्यक नीति तथा ऐन निर्माणबारे केन्द्रित अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।
किरात राई यायोक्खा १ नं. प्रदेश समितिको आयोजना तथा लाहुर्नीप काठमाडौंको सहयोगमा बुधबार इटहरीस्थित त्रियुगा होटलको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हताछो राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट किरात राई यायोक्खाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागी प्रतिनिधिहरूले सांस्कृतिक भूमि संरक्षणको आवश्यकता, वर्तमान चुनौती र त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । वक्ताहरूले सांस्कृतिक पहिचान र मौलिकताको संरक्षणका लागि भूमि व्यवस्थापन महत्वपूर्ण आधार भएको उल्लेख गर्दै राज्यले यस क्षेत्रमा स्पष्ट नीति तथा ऐन निर्माण गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए । साथै, स्थानीय समुदायको अधिकार सुनिश्चित गर्दै दीगो संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो ।
कार्यक्रमले सांस्कृतिक सम्पदा संरक्षणका लागि नीति निर्माणमा सकारात्मक बहसको वातावरण सिर्जना गरेको यायोक्खा प्रदेश सचीव राम माण्डुपा राईले बताउनुभयो । गोष्ठीमा लाहुर्नीप सचिव भिम राईले कानुनी पक्ष र सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्र हतुवालीले सांस्कृतिक पक्षबारे प्रशिक्षण दिनुभएकोे थियो ।


