इटहरी । सुनसरीको तरहरास्थित श्री जनसहयोग माध्यमिक विद्यालय २०५० समूहले आयोजना गर्न लागेको ‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ का लागि उत्कृष्ट १० कविता छनोट भएका छन् ।
देशभरबाट प्राप्त ५ सय ४७ कवितामध्ये तीन चरणको मूल्यांकनपछि उत्कृष्ट १० कविता छनोट गरिएको आयोजकले जनाएको छ । छनोटमा धनकुटाका अनिल सुवेदी, इलामका ऋजन मायालु, अर्घाखाँचीकी कल्पना मरासिनी, मोरङका टीकाराम कार्की, झापाका प्रचुर अभाव, सोलुखुम्बुकी प्रज्ञा निरौला, भक्तपुरका विश्वराम खत्री, विशाल कुमार शाह, सुनसरीकी सवि मेवाहाङ र मकवानपुरका सुवास सजल परेका छन् ।
कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार वैशाख १९ गते हुने कार्यक्रममा उनीहरूले कविता वाचन गर्नेछन् र सोही आधारमा विजेता घोषणा गरिनेछ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५१ हजार १ सय ११, ४१ हजार १ सय ११ र ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइनेछ । अन्य सात जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


