इटहरी । झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काका अनुसार बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बस दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार बाटोमा निस्किएको प्र १–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।ठक्करपछि बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १३ जना विद्यार्थी घाइते बनेकाछन् ।
बसमा २० जना विद्यार्थी सवार रहेका थिए । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । यसैगरी घाइते विद्यार्थीहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । मनमोहन अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ ।
घाइते हुने विद्यार्थीहरूमा अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतिक्षा राजवंशी, बर्टिका राजवंशी, सुमन राजवंशी, श्रृजना राजवंशी लगायत रहेकछन् । सबै विद्यार्थीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेको र खोजी कार्य भइरहेको खड्काले जानकारी दिनुभयो ।


