इटहरी । अब उदयपुरका नागरिकले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।\

नेपाल सरकारको शासकीय सुधार अन्तर्गत सुरु गरिएको नयाँ व्यवस्थाअनुसार हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने सेवा उदयपुरमा औपचारिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार सरकारी सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो।

सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला हुलाक कार्यालय उदयपुरबीच हिजो वैशाख १७ गते सम्झौता भई सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए । यस सेवाअन्तर्गत अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आफूले चाहेको तरिकाले राहदानी प्राप्त गर्न सक्नेछन्। आवेदनकै समयमा हुलाकमार्फत घरमै बुझ्ने वा कार्यालयबाटै बुझ्ने भन्ने विकल्प छनोट गर्न सकिने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले जानकारी दिए। नयाँ सेवाले सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट राहत पुग्ने अपेक्षा गरिएको छ।

विशेष गरी टाढा–टाढाबाट जिल्ला प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि यो सेवा निकै उपयोगी हुने विश्वास गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले सबै सेवाग्राहीलाई राहदानी आवेदन गर्दा नै आफ्नो रोजाइ स्पष्ट रूपमा जानकारी गराउन समेत आग्रह गरेको छ।