इटहरी । सुनसरीको धरानमा पहिलो पटक नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग अन्तर्गत खुल्ला एक्युरेसी प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ (भुपाल) का अनुसार प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । एक्युरेसी ओभरअल तर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख र तेस्रो स्थान हासिल गर्नेले ७५ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै, एक्युरेसी टिम तर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्युरेसी नेशनल पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् भने एक्युरेसी नेशनल महिलातर्फ पनि विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको टेक अफ छोटी मोरङ (धरान–४) बाट गरिनेछ भने ल्याण्डिङ सेउती करिडोर (धरान–४) मा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल सहित भारत, चीन, मलेसिया र श्रीलंका लगायत देशका करिब ६० जना खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिताले धरानलाई साहसिक खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


