इटहरी । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्।
अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले सरकार मन्दिर र गुम्बा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् । साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो यो धर्तीमा। नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्लाजस्तो देखियो।
’ उनले भगवानकै सृष्टि रहेको र भक्तिभावमा बनाइएका मन्दिर भत्काउनु अराजकता रहेको बताए । ‘भगवानले जग्गा किनेर नम्बरीमा बस्नु पर्ने रे ?’ उनले भनेका छन्। खासगरी सरकारले शुक्रवार काठमाडौँस्थित मन्दिर र गुम्बा नै डोजर लगाएर भत्काएपछि अहिले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।


