इटहरी । झापा जिल्लाको मेचीनगर नगरपालिका–२ आदर्श टोलमा जंगली हात्ती बस्तीमा पसेर दुई परिवारको भान्सा घरमा क्षति पुर्‍याएको छ।

शनिवार बिहान करिब ४ः०० बजेको समयमा आएको हात्तीले स्थानीय बासिन्दालाई त्रसित बनाएको हो। स्थानीय श्यामलाल अर्यालको ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घर हात्तीले पूर्णरूपमा भत्काएको प्रहरीले जनाएको छ। सो क्रममा भान्सा घरभित्र राखिएको धान र आलुसमेत नष्ट हुँदा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, सोही स्थानकी बबिता पुरीको पनि ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा हात्तीले क्षति पुर्‍याएको छ। पुरीको घरमा राखिएको चामल तथा अन्य खाद्यान्नमा करिब १४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।प्रहरीका अनुसार दुवै घरको भान्सा संरचना तथा खाद्यान्न गरी जम्मा ४४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

घटना पछि हात्ती जंगलतर्फ फर्किएको जनाइएको छ। स्थानीयवासीले पछिल्लो समय बस्ती नजिकै हात्तीको आवतजावत बढ्दै गएको भन्दै त्रास बढेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायसँग सुरक्षाको प्रभावकारी व्यवस्था गर्न माग गरेका छन्।