इटहरी । बिराट टेलिभिजनले भारतमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित डा.अंकुरप्रकाश गुप्तालाई इन्डिया कन्ट्री हेड पदमा नियुक्त गरेको छ ।
कम्पनीले ३० अप्रिल २०२६ मा जारी गरेको औपचारिक नियुक्तिपत्र अनुसार गुप्ताले १ मे २०२६ देखि उक्त जिम्मेवारी सम्हाल्नुभएको हो । भारतमा लामो समयदेखि चिकित्सा क्षेत्रका साथै सञ्चार क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका गुप्ता अनुभवी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँको यही बहुआयामिक अनुभवलाई आधार मान्दै बिराट टेलिभिजनले भारतमा आफ्नो सञ्जाल विस्तार, रणनीतिक सहकार्य विकास तथा सञ्चालन सुदृढीकरणका लागि यो जिम्मेवारी दिएको जनाएको छ ।
नियुक्तिपत्रमा गुप्तालाई भारतभर सञ्चार माध्यमको उपस्थिति मजबुत बनाउने, साझेदारी तथा नेटवर्क विस्तार गर्ने, सञ्चालन तथा प्रतिनिधित्व सम्हाल्ने, संस्थाको उद्देश्य र ब्रान्ड प्रवद्र्धन गर्ने तथा नयाँ अवसर पहिचान गरी प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ । कम्पनीका अनुसार गुप्ताको नेतृत्वले नेपाल–भारतबीच सञ्चार र सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
विराट टेलिभिजनले गुप्तालाई स्वागत गर्दै आगामी दिनमा संस्थाको दृष्टि अगाडि बढाउन उहाँको योगदान महत्वपूर्ण हुने अपेक्षा गरेको छ ।


