मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले वर्षायामको समयमा भूमिहीन तथा सुकुम्बासीहरूको घरटहरा भत्काएर उनीहरूलाई विचल्ली बनाउने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गर्नुभएको छ।
उहाँले सरकारको लहलहैमा लागेर सुन्दरहरैंचा नगरपालिका ले कुनै स्पष्ट नीति र व्यवस्थापनबिना भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने निर्णय गर्नु गैरजिम्मेवार र अव्यावहारिक भएको बताउनुभयो।
तामाङले यस्तो कार्य तत्काल रोक्दै भूमिहीन तथा सुकुम्बासीहरूको उचित पहिचान र व्यवस्थापन गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। साथै प्रभावित परिवारहरूको मानवीय अवस्थालाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।


