इटहरी । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय प्याउलीको आयोजनामा शारदा माध्यमिक विद्यालयको सभा हलमा ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न भएको छ ।
संस्थाको ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा आन्तरिक लेखा परीक्षण विभाग प्रमुख मनोज कुमार शाह प्रमुख अतिथि तथा लघुवित्तीय विभाग प्रमुख सीप कुमार राम विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला प्रमुख पपु कुमार शाह, शाखा प्रमुख निरज शाह र प्रधानाध्यापक श्यामसुन्दर शाह लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका ६ जना बालबालिकालाई स्कुल झोला वितरण गरिनुका साथै उत्कृष्ट ३ बचतकर्ता, ३ ऋणी र ५ वटा केन्द्रहरूलाई पुरस्कृत तथा सम्मानित गरियो। सदस्यहरूको जीवनस्तर उकास्न र वित्तीय अनुशासन कायम राख्न हरेक दुई वर्षमा यस्ता कार्यक्रम आयोजना गरिने लक्ष्य राखेको यस संस्थाले वित्तीय साक्षरतामार्फत बचतको बानी र कर्जाको सही सदुपयोगबारे सदस्यहरूलाई सचेत गराएको छ।
२०८० असारमा स्थापित यस शाखाले छोटो समयमै स्थानीय स्तरमा बलियो विश्वास आर्जन गर्दै समुदायमा वित्तीय पहुँच र चेतनाको नयाँ लहर सिर्जना गर्न सफल भएको शाखा प्रमुख निरज शाहले जानकारी दिनुभयो।


