इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जाने यात्रुहरूको नियमित जाँचका क्रममा दुई फरक मितिमा नगद बरामद गरिएको हो। बैशाख १८ गते बेलुका करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङको साथबाट ११ लाख नगद फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, बैशाख १९ गते दिउँसो ३ः३५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौं जान लागेका भारत, माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीको साथबाट १५ लाख ९८ हजार नगद बरामद गरिएको छ। दुवै जनाबाट कुल २६ लाख ९८ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


