इटहरी । दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम हुनुभएको छ ।

जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रथम स्थान हासिल गर्नुृभएको हो ।

प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कविता सहित मकवानपुरका सुवास सजल द्वितीय तथा ‘बारुद’ शीर्षकको कविता सहित इलामका ऋजन मायालु तृतीय हुनुभयो । उहाँहरूले क्रमशः ४१ हजार ५ सय ५५ र ३१ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुृभयो ।  अन्तिम चरणका लागि छनोट भएका अन्य सात प्रतिस्पर्धी अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी)लाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरिएको थियो।

कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५ सय ४७ कवितामध्ये उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो। प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मनप्रसाद सुब्बाले साहित्यलाई निरन्तर अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो। सोही अवसरमा सर्जक महेशबाबु तिम्सिना द्वारा लिखित कविता संग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचन समेत गरिएको थियो।

आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफ्ना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार सोही कार्यक्रमको अवसरमा कविहरू राजा पुनियानी, देवान किराती, भूषित वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ, टीका आत्रेय र धिरज राईले कविता वाचन गर्नुभएको थियो ।