इटहरी । विपन्न तथा निम्न आय भएका समुदायलाई वित्तीय पहुँच पु¥याउँदै आएको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।
संस्थाका अध्यक्ष केशवराज पौडेलको अध्यक्षता तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरूलाई सम्मानपत्र तथा खादा–मालाले सम्मान गरिएको थियो। कार्यक्रममा उनीहरूको स्थानीयस्तरमा देखिएको समर्पण र उत्कृष्ट सेवाको प्रशंसा गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव कृष्ण प्रसाद भट्टराईले संस्थाले महिलाहरूको आर्थिक सबलीकरण, आत्मनिर्भरता तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो।
त्यस्तै, प्रमुख अतिथि भगवती चौधरीले लघुवित्त संस्थाहरूले विपन्न वर्गलाई बचत, कर्जासुविधा, वित्तीय साक्षरता र उद्यम विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता संस्थाहरूलाई नीति तथा बजेटमार्फत थप प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा महिला समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन मानव संसाधन प्रमुख हिरा थन्दारले गर्नुभएको थियो भने उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


