इटहरी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङकै ग्रामथान गाउँपालिका वडा नम्बर २ का प्रिन्स खाँ थारुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थारुले किशोरीलाई ग्रामथान गाउँपालिका वडा नम्बर ६ मा रहेको आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ । उनी विरुद्ध किशोरीका आफन्तले आइतबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार पक्राउ परेका थारुले आइतबार दिउँसो ३ बजेतिर किशोरीलाई बलात्कार गरेको भनेर जाहेरी परेको थियो ।

थारुविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको समेत दाहालले जानकारी दिनुभयो ।