इटहरी । भोजपुर सदरमुकामस्थित कोदार फुटबल रङ्गशालामा सोमबारदेखि सुरु भएको आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान विजयी भएको छ । 

धरानले भोजपुर नगरपालिका–१० लाई २,० गोलले हरायो । धरानका लागि प्रजिता राई र आशिका कार्कीले गोल गर्नुभयो । आशिका प्लेयर अफ दी म्याच बन्नुभयो ।  प्रतियोगितामा भोजपुर नगरपालिका–१०, रिमाचोङ, लेटाङ फुटबल क्लब, गेरबाबा फुटबल क्लब, सङ्खुवासभा–११, फेयर फुटबल क्लब धरान सहित ६ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । 

प्रतियोगितामा विजयी हुने टिमले एक लाख ६ हजार रुपियाँ र उपविजेताले ५५ हजार रुपियाँ पुरस्कार पाउने छ । व्यक्तिगत विधाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।