इटहरी । मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा मंगलबार बिहान ११ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनी परीक्षा दिएर फर्किदैँ गरेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र मोटरसाइकलकै पछाडि सवार सुन्दरहरैँचा–७ का १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


