विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुली सहभागी हुनुभएको थियो। साथै महासंघका केन्द्रीय सदस्य कमल रिमाल, सल्लाहकारहरू, विभिन्न सञ्चार संस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रता, पेशागत मर्यादा तथा वर्तमान चुनौतीहरूका विषयमा खुला रूपमा विचार आदान–प्रदान गरेका थिए। वक्ताहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री इन्द्रमणी पराजुलीले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार स्तम्भ भएकोले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनुपर्छ। प्रदेश सरकारले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सञ्चार क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने र पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा पनि सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले सूचना प्रवाहलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन पत्रकार र राज्यबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।


