इटहरी। गएको असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलीब्रिज बगाएपछि पुनः इलामको पुवा खोला र जोगमाइ खोलाको बेलीब्रिजको काम थालिएको छ । 

मेची राजमार्गको वैकल्पिक मार्गका रुपमा निर्माण भइरहेका केचना कञ्चनजंघा सडकअन्तर्गत पर्ने पुवाखोला र मेची राजमार्गको गोदकस्थित सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाइ खोलामा पुनःबेलीब्रिजको काम थालिएको हो । मेची राजमार्गको माइखोलास्थित राजदुवालीमाथिको सडक पटक–पटक पहिरो गएर भरपर्दो नभएपछि वैकल्पिक मार्गमा पर्ने खोलामा पुल निर्माणलाई तीब्रता दिइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।   केचना कञ्चनजंघा सडकबिचमा पर्ने माइखोलाको भासिएको बेलासे पुलमा पनि बेली ब्रिज राख्ने काम सुुरु भएको भट्टराईले बताउनुुभयो ।

अहिले जोगमाइ र पुवा दुुवै खोलामा बेली ब्रिजका लागि पिल्लर, जिप, जाली र ड्रिलिङको काम भइरहेको जनाइएको छ । भारतीय सरकारको प्राविधिक सहयोगमा निर्माण हुुने यी बेलीब्रिज जडान सुुरु गर्न भने भारतबाट प्राविधिकको टोली आउने र त्यसका लागि अब खबर गर्ने अवस्थामा रहेको भट्टराईले जानकारी दिनुुभयो । यता, मेची राजमार्गको माइखोलास्थित राजदुवालीमाथिको सडक खण्डमा भने अहिले पनि मर्मतको काम भइरहेको छ । गत वर्षको वर्षा पछिको बाढी र पहिरोका कारणअवरुद्ध भएको यो सडकखण्ड अहिले पनि पहिरोमाथि नै बनाइएको ट्रयाकमा सञ्चालनमा रहेको छ । यो खण्डमा मर्मत भइरहे पनि वर्षैभरी यातायात सञ्चालनको सुनिश्चित्ता भने नभएको सरोकारवालाको बुुझाइ छ ।