इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका वृद्धवृद्धा घर आँगनबाटै भत्ता रकम पाएपछि दङ्ग भएका छन् ।
गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेर घर आँगनमै सामाजिक सरक्षा भत्ता पाएपछि उनीहरु दङग भएका हुन् ।मैवाखोला गाउँपालिकाले वडा नम्बर ६ फाकुम्बामा बुधबार एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । फाकुम्बास्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित घुम्ती शिविरमा वृद्धवृद्धा अर्थात ज्येष्ठ नागरिकसहित ७८ जना लाभग्राहीले भत्ता रकम बुझेका छन् । घर आँगनमै आयोजित घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम पाएपछि लाभग्राही खुसी भएका हुन् । भत्ता रकमका लागि बैङ्क र कुनैबेला वडा कार्यालय धाउनुपर्ने अवस्था रहेकोमा यसपटक घर आँगनमै रकम पाएपछि सबैभन्दा बढी वृद्धवृद्धा खुसीसँग दङ्ग भएका हुन् ।
गाउँपालिकाद्वारा एकीकृत घुम्ती शिविर आयोजना गरिएकाले शिविरबाट भत्ता रकम वितरण गरिएको मैवाखोला गाउँपालिका, पञ्जीकरण शाखाका प्रमुख तमकुमार लिम्बूले जानकारी दिनुभयो । पालिकाको केन्द्रस्थित साँघुमा रहेको लक्ष्मी सनराइज बैङ्कसँग समन्वय गरेर शिविरमार्फत भत्ता रकम वितरण गरिएको लिम्बूले बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गर्नका लागि बैङ्कका प्रतिनिधि विवस लिम्बू शिविरमा आउनुभएको थियो । त्यस्तै सुरक्षाका लागि साँघु प्रहरी चौकीबाटै प्रहरी हवल्दार संझाकुमारी विश्वासको नेतृत्वमा प्रहरी टोली खटिएको पनि पञ्जीकरण शाखा प्रमुख लिम्बूले जानकारी दिनुभयो ।
फाकुम्बाका वडासचिव साङ्गबहादुर शेर्पाका अनुसार वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १२० जनाभन्दा बढी लाभग्राही रहेकोमा शिविरमा आएका ७८ जनालाई भत्ता वितरण गरिएको हो । ज्येष्ठ नागरिक, ६० वर्षमाथिका ज्येष्ठ दलित, ज्येष्ठ एकल महिला, बिधुवा, पूर्ण र आंशिक ‘ख’ वर्गका अपाङ्ग नागरिक र दलित बालबालिकालाई भत्ता रकम वितरण गरिएको वडासचिव शेर्पाले जानकारी दिनुभयो ।
यता पालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा पञ्जीकरणसहित विभिन्न १३ वटा शाखाबाट प्रदान हुने सेवाहरु प्रवाह गरिएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । गोम्देनका अनुसार गाउँपालिकाका छ वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने योजनाअनुसर बुधबार तेस्रो दिनको घुम्ती शिविर आयोजना गरिएको हो । यसअघि सोमबार र मङ्गलबार वडा नम्बर १ र २ ढुङ्गेसाँघुमा शिविर सम्पन्न भएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले पालिकावसी जनतालाई घर आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्य राखेर एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताउनुभयो । शिविरमा अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, वडा ६ का वडाध्यक्ष राजुमान लिम्बूसहित अन्य जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


