इटहरी । केचना(कञ्चनजङ्घा सडक खण्डको माई खोलास्थित बेलासेमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि विद्यालय जाने बालबालिका समस्यामा परेका छन् ।
गत असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलासेमा रहेको पक्की पुल भासिएर आवतजावत ठप्प भएपछि माई खोलामा डाइभर्सन बनाएर यातायात र पैदलयात्रीका लागि सहज बनाइएको थियो । तर, गत एक सातादेखि निरन्तर वर्षा भएपछि आएको बाढीले उक्त डाइभर्सन बगाएको हो । पुनः वैशाख २१ गते दिउँसो बनाइएको डाइभर्सन पनि सोही राति आएको बाढीले बगाएपछि यो क्षेत्रमा वारिपरि गर्ने बाटो पूर्णरूपमा बन्द भएको छ । डाइभर्सन बगेपछि माई खोला तरेर चिसोपानीस्थित विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी विद्यालय जान नपाएको स्थानीय सविन लोक्तामले जानकारी दिनुभयो । लोक्तामका अनुसार १२ देखि १५ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।
डाइभर्सन बगाएपछि यो सडक भएर चल्ने इलामको पश्चिमी क्षेत्रका देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकालगायतका स्थानका सर्वसाधारण र यातायात व्यवसायी समस्यामा परेका छन् । असोज १८ को बाढीले पक्की पुल भासिएपछि लामो समयसम्म यस क्षेत्रका बासिन्दाले यातायातको सास्ती खेप्नुपरेको थियो । पुल भासिएको करिब तीन महिनापछि देउमाई नगरपालिकाको सक्रियतामा निर्माण भएको डाइभर्सन पछिल्लो एक साताभित्रै दुई पटक बाढीले बगाइसकेको छ ।
यता, भासिएको पुलको आधा भाग निकालेर सडक डिभिजन कार्यालय, इलामले बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाए पनि कामले गति लिन सकेको छैन । केचना(कञ्चनजङ्घा सडक अन्तर्गत माई खोलास्थित बेलासेमा रहेको भासिएको पक्की पुल । यहाँ बनाइएको डाइभर्सन २१ गते राति बाढीले बगाएको छ ।


