इटहरी ।  पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ।

कोशी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा यस वर्ष प्रदेशका अग्रज पत्रकार सिद्धराज राई, विवेक गौतम, शेखर रेग्मी, रेजिना गौतम, सन्तोष रुचाल, मनोज श्रेष्ठ, श्यामसुन्दर सुतियार र गोपाल दाहाल सम्मानित भएका छन्। सम्मानित सबै पत्रकारलाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी र सरकारी भनेर कुनै पनि सञ्चार माध्यमलाई विभेद नगर्ने बताउनुभयो।

उहाँले निजी सञ्चारमाध्यमलाई बन्देज लगाउने वा संकुचन गर्ने काम संविधानविपरीत हुने उल्लेख गर्दै सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।  यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले लोकतन्त्र, सुशासन र नागरिक सचेतनाका लागि पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

मन्त्री पराजुलीले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशामा अगाडि बढाउने उल्लेख गर्दै पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता विकास र अधिकार संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन मन्त्रालयले आवश्यक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्का, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, सम्मानित पत्रकार रेजिना गौतम तथा मन्त्रालयका सचिव आसमान तामाङले पनि मन्तव्य राख्नुभएको थियो।