इटहरी । मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ ।
चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो । मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगरमा हरियालीका लागि जङ्गल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो ।
भारतबाट सीमा छिचोलेर जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौँडामा रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानका रूपमा परिचित रहेको स्थानीय बताउँछन् । पार्क रहेको स्थानबाट दुई किलोमिटर पश्चिममा मेचीपारि भारतको लोहागढ जङ्गल पर्दछ । सोही जङ्गलबाट प्रत्येक साँझ ६० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् । पार्कमा रोपिएका फूल फुल्ने एक सय प्रजातिका बिरुवाले सौन्दर्य थपेको छ भने हात्तीले खान रुचाउने ‘इलिफेन्ट फ्रुट’ नामक बिरुवा पनि प्रकृति पार्कमा हुर्काइएको छ ।
भारतबाट आहारको खोजीमा बगरैबगर बाहुनगाँडीतिर आउने गरेका हात्तीका बथान खोला किनारमा अलमलिउन् भनेर पार्कमा ‘इलिफेन्ट फ्रुट’ सहित हात्तीमैत्री बिरुवा रोपिएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार सो स्थानमा अम्बकसहित फलफूलका बिरुवासमेत हुर्काइएका छन् । चराचुरुङ्गीको वासस्थान र संरक्षणका लागि फलफूलका बिरुवा पार्कमा लगाइएका वडाध्यक्ष कार्कीले उल्लेख गरे । बाहुनडाँगी क्षेत्रमा बगर बट्टाई, कोइली, स्वर्गचरी, राजधनेषलगायत दुर्लभ चराको वासस्थान भएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिए । उनअनुसार प्रकृति पार्कमा पुगेपछि पर्यटकले रमाइलो मात्र होइन, मानव(हात्ती द्वन्द्वका विषयमा समेत स्थलगत अध्ययनको अवसर पाउनेछन् । भारतको आसामबाट पश्चिम बङ्गालको सुकुना जङ्गल हुँदै कोशी नदी किनारको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म विचरण गर्ने एसियाली हात्ती नेपालको बाहुनडाँगीमा प्रवेश गर्ने मुख्य गौँडा पार्कमा आउने भएकाले पर्यटकले अवलोकन गर्न पाउने वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताए ।
हरियाली र शितल हावा बहने स्थान भएकाले पार्कमा गर्मीयाममा घुम्न आउने पर्यटकको सङ्ख्या बढी हुने उनको भनाइ छ । मेची नदीको फराकिलो बगर र पहाडको फेदीको दृश्यावलोकनसमेत पर्यटकका लागि आकर्षण बन्ने गरेको वडाध्यक्ष कार्कीले बताए ।पार्कभित्र रहेका साना जलाशय, वनस्पति र शान्त वातावरणले गर्दा वनभोज मनाउन जाने र प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बनेको स्थानीय समिर राईले बताए । गत वर्षको मेचीको बाढीले पार्कभित्र निर्माण गरिएको जलाशय पुरेको छ भने पार्कभित्रका विभिन्न संरचना बगाएर रु १३ लाखभन्दा बढी क्षति पुर्याएको उनले जानकारी दिए ।
स्वच्छ पिउने पानी, नुहाउने झरना र बस्ने टहराको व्यवस्था भएकाले यहाँ बालबालिका लिएर अभिभावक पनि आउने गरेका छन् भने वनभोज खान र फोटो खिच्नका लागि युवायुवती आउने गरेका स्थानीय बताउँछन् । मुख्य बस्तीभन्दा टाढा मेचीको बगरमा रहेको यो पार्कमा साँझ र बिहानीपख घुमफिर गर्नका लागि भने सुरक्षा चुनौती रहेको स्थानीयको भनाइ छ । भारतबाट साँझ पर्ने बित्तिकै जङ्गली हात्ती नेपालतिर यही गौँडाबाट प्रवेश गर्ने र बिहानीपख भारततिर फर्किने भएकाले उक्त समयमा पार्कमा बस्नु असुरक्षित हुने स्थानीयले जनाएका छन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्तीको आवतजावतलाई व्यवस्थित गरेर पर्यटकलाई सुरक्षित रूपमा प्रकृति अवलोकन गर्ने वातावरण बनाउन प्रयास गरिनुपर्ने यहाँ आउने पर्यटकले जोड दिएका छन् ।
पार्कमा पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीय बाहुनडाँगी बजारमा घरबास र साना होटलमा ग्राहक थपिन थालेका छन् । बाढीले भत्काएको पूर्वाधारलाई पुनः निर्माण गर्ने र भविष्यमा बाढीले क्षति नगरोस् भनेर पार्कलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पूर्वी तटमा बलियो बाँध बाँध्ने कार्य सुरु गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
भारतसँगको खुला सिमाना र जङ्गली हात्तीको नियमित प्रवेशका कारण सुरक्षा चुनौती रहे पनि सौर्य तारबारको प्रभावकारी प्रयोग गर्दै सरकारसँगको सहकार्यमा बाहुनडाँगीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडा कार्यालयले पहल गरिरहेको उनले बताए ।


