इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ।

घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लागि लगिए पनि साँझ ६ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे साँझ ६ः४० बजे इलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।