इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीले आफ्नो सचिवालयलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न पदमा सल्लाहकार तथा सदस्यहरू नियुक्त गर्नुभएको छ ।

जनताको समस्या छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने लक्ष्य सहित सचिवालय मार्फत काम अघि बढाइएको जनाइएको छ ।  सांसद चौधरीको सचिवालय प्रमुख नविन थापाले नियुक्ति गर्नुृभएको हो । सचिवालय सदस्यमा आशिष कुमार गुप्ता र सरोज सिंह लाई जिम्मेवारी दिइएको हो । प्राविधिक क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले ईश्वर कुमार तामाङलाई इन्जिनियर पदमा नियुक्त गरिएको छ ।

स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक सुझाव तथा समन्वयका लागि डाक्टर शिव नारायण शर्मालाई स्वास्थ्य सल्लाहकार नियुक्त गरिएको छ भने कानुनी विषयमा मार्गदर्शन तथा परामर्श प्रदान गर्न अधिभक्ता बिपुल थापालाई कानुनी सल्लाहकारको जिम्मेवारी दिइएको छ । नवगठित सचिवालयका पदाधिकारीहरूबीच हालै बसेको छलफलमा क्षेत्रका विभिन्न स्थानीय समस्या, विकास निर्माणका योजना तथा जनताका गुनासा संकलन र समाधान गर्ने विषयमा व्यापक रूपमा छलफल भएको थियो।

सचिवालयले स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिकसँग समन्वय गरेर काम गर्ने योजना बनाएको सचिवालय प्रमुख नविन थापाले बताउनु भयो । सांसद अशोक कुमार चौधरीले निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता तथा बाचा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सचिवालय मार्फत जनताको गुनासा सुन्ने, समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामलाई प्राथमिकतामा राखिने जानकारी दिनुभएको छ । सचिवालय गठनसँगै अब जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने कामलाई तीव्रता दिइने अपेक्षा गरिएको छ ।