इटहरी । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा केही दिनअघि भएको भीषण आगलागीबाट घरबारविहीन बनेका पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
हर्ड नेपालले अमेरिकी संस्था एल.डी.एस च्यारिटिज सँग सहकार्य गरी बुढीगंगा गाउँपालिकाको समन्वयमा आगलागी पीडित परिवारलाई आवश्यक राहत सहयोग उपलब्ध गराएको हो । आगलागीबाट प्रभावित १३ घरपरिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका अनुसार पीडित परिवारको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपरिवार ५० केजी चामल र खाने तेल सहितको खाद्यान्न, लत्ताकपडा एवं सरसफाइ र घरायसी प्रयोजनका लागि आवश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको हो।
विपद्को समयमा नागरिकको जनजीवन सहज बनाउन स्थानीय सरकारले राहत स्वरूप यी सामग्रीहरू एकीकृत रूपमा प्रदान गरेको जनाएको छ। यसअघि पनि गाउँपालिकाले पीडित परिवारलाई विभिन्न राहत सामग्री उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पीडित परिवारका लागि नयाँ घर निर्माणको कामसमेत तीव्र रूपमा अघि बढाइएको छ । गोकुवा चोकभन्दा पूर्वतर्फ रहेको उक्त मुसहर बस्तीमा दिउँसो करिब २ बजेतिर अचानक आगलागी भएको थियो ।
फुसको छाना र टाटीबेराले बनेका घरहरू भएकाले आगो तीव्र रूपमा फैलिँदा १३ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । आगलागीपछि आश्रय, खाद्यान्न र दैनिक उपभोग्य सामग्री गुमाएका अधिकांश मुसहर परिवार अहिले राहतको भरमा जीवनयापन गर्न बाध्य छन् ।
यस्तो कठिन परिस्थितिमा स्थानीय तह, सामाजिक संस्था तथा सहयोगी निकायको सक्रियताले पीडित परिवारमा केही आशा जागेको स्थानीयवासीले बताएका छन् । राहत वितरण कार्यक्रममा गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत प्रयास भट्टराई, अन्य कर्मचारी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।


