इटहरी। सप्तकोशी नदीको पूर्वी तटबन्ध क्षेत्रको नदी किनारभित्र ‘प्रोकोपाइनको पिल्लर’ लगाउन थालिएको छ । कटान हुने सम्भावित स्थानमा प्रोकोपाइनमा झिक्रासहितको बाँस बाँधेर गत वर्ष पानीको चाप परेको ठाउँमा प्रोकोपाइन हाल्न थालिएको छ । 

पूर्वी तटबन्धको राजावास क्षेत्रका स्परहरूमा बढी पानीको चाप नदी किनारमा पर्ने हुँदा बाँसको झिक्रासहित प्रोकोपाइन बाँधेर हाल्न थालिएको राजावास सबडिभिजनले जनाएको छ । उच्चस्तरीय प्राविधिकको स्थलगत अनुगमनपछि कटानको सम्भावित क्षेत्रमा मर्मत तथा रोकथामका काम गरिँदै आएको बताइएको छ । 

कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले पानीको चाप पर्ने स्थानको हिउँदमै पहिचान गरेर चैतबाटै प्रोकोपाइन बनाउने र नदीभित्र लगाउने काम गर्दै आएको प्रोकोपाइनको काम गराउँदै आएका महोन मण्डलले बताउनुभयो । उहाँका अनुसार पूर्वी तटबन्धको स्पर २४ः१० देखि चतरासम्मै नदीले कटान गर्ने सम्भावित क्षेत्रहरूमा मर्मतको काम भइरहेको छ । नदीमा वर्षाको पानीको चाप पर्ने स्थानमा तारजालीमा ढुङ्गा भरेर र प्रोकोपाइनमा बाँस बाँधेर लगाउने काम हुँदै आएको मण्डलले बताउनुभयो । उहाँका अनुसार प्रोकोपाइनमा बाँस बाँधेर लगाउँदा लगाएको नदी किनार क्षेत्रमा बर्खाको बाढीमा आउने लेदो, गे्रगर र बालु थिग्रिएर किनार क्षेत्र पुरिने गरेको छ । 

चैतबाटै नदी किनारमा प्रोकोपाइन बनाउने र लगाउने काम हुँदै आएको बताइएको छ । बर्खाको बाढीलाई लक्षित गरेर प्रत्येक वर्ष मर्मत गरिने सप्तकोशी नदीको पूर्वी तटबन्धको किनारमा यस वर्ष पनि तटबन्ध र नदी किनार क्षेत्रमा मर्मतको काम गरिँदै आएको छ । कोसी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले पानीको चाप पर्ने पूर्वी तटबन्धका स्पर र किनार क्षेत्रमा मर्मतको काम हुँदै आएको बताइएको छ ।नदीमा वर्षासँगै आउने बाढीले स्परको अगाडिको भागमा पानीको चापका कारण कटान गर्ने हुँदा स्पर कमजोर हुने र तटबन्धको सुरक्षाका लागि मर्मत गरिँदै आएको मण्डलले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष कोशी किनार क्षेत्रमा वर्षा लाग्नुअगावै भारतीय कोशी आयोजनाले तटबन्ध र स्परको मर्मत गर्दै आएको छ । 

कोशी आयोजना अन्तर्गत जलसंसाधन विभाग, पटना र वीरपुरले ठेक्कामार्फत कोशीको तटबन्ध र स्परहरूको मर्मतसम्भार गर्दै आएका छन् । नदी किनारको तटबन्ध जोगाउन बालुवा, गिट्टी, सिमेन्ट र रडको प्रयोग गरेर तीन वटा पिलरलाई त्रिभुज आकारमा नट–बोल्टले कसेर बनाइएको त्रिखुट्टी नदी किनार क्षेत्रमा राखिँदै आएको छ । कोशी ब्यारेजदेखि वराहक्षेत्रसम्मको नदी क्षेत्र कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले नदी तटबन्ध, स्परको रेखदेख र मर्मतसम्भारको काम गर्दै आएको छ ।