इटहरी । एसइइ दिएका विद्यार्र्थीहरूलाई लक्षित गर्दै वृहत प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा आगामी जेठ २ र ३ गते विराटनगरमा मेला सञ्चालन हुने भएको हो । “सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त मेलाले विशेषगरी एसइइ दिएका विद्यार्थीहरूलाई आफ्नो भविष्यको अध्ययन तथा करिअर छनोट गर्न महत्वपूर्ण सहयोग पु¥याउने (सिटिइभीटी) अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय, सम्बन्धन स्वीकृति प्राप्त निजी शिक्षण संस्था तथा विभिन्न तालिम प्रदायक निकायहरूले आफ्ना कार्यक्रम, अध्ययन अवसर तथा प्रयोगात्मक गतिविधिहरू प्रस्तुत गर्नेछन् । विद्यार्थीहरूले एउटै स्थानबाट विभिन्न कलेज तथा कार्यक्रमबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभीटी कोशी प्रदेश कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले जानकारी दिनुभयो । मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहअन्तर्गतका विद्यालयहरूबाट शिक्षक, विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरू सहित २ हजार भन्दा वढीको सहभागिता रहनेछ । विद्यार्थीहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाका विविध क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै आफूलाई उपयुक्त विषय छनोट गर्न सहज हुने आयोजकले जनाएको छ ।
मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि तथा हस्पिटालिटी लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूले गर्ने प्रत्यक्ष सीप प्रदर्शनी हुनेछन् । प्रदर्शनी मार्फत प्रयोगात्मक कार्य, परियोजना तथा नवीनतम प्रविधिको अवलोकन गर्न सकिने छ भने मेलामा ४० वटा शैक्षिक स्टल रहनेछन् ।


