इटहरी । किरात राई समाज स्पेनले उभौली चाड मनाएका छन् ।
स्पेनको राजधानी म्याड्रिडमा मे १० तारिक सोमबारका दिन किरात राई समाजले किरात सम्बत ५ हजार ८६ उभौली चाडको अबसरमा साकेला नाच नाचेर मनाएका हुन् । उक्त उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत–संगीत तथा नुत्य प्रस्तुत गरेका थिए । किरात राई समाज स्पेनका अध्यक्ष युबराज चाम्लिङ राई सहित प्रवासमा रहेका किरात राई समुदायका अग्रज व्यक्तित्वहरुले विधिवत रूपमा पुजा गरि उभौलि साकेलाको उद्घाटन गनुृभएको थियो ।
समाजका अध्यक्ष राईले किरात राई समुदायले प्रकृति, भूमि र पुर्खाको पूजा गरी धुमधामका साथ उभौली चाड विगत ३ वर्षदेखि स्पेनमा मनाउदै आएको बताउनुभयो । अध्यक्ष राईले उभौली चाडले प्रवासमा बसोबास गर्ने नेपाली समुदायबीच मौलिक भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
किरात समुदायको उभौली चाडले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता, सद्भाव र पहिचानलाई अझ सुदृढ बनाउन पुलको रूपमा रहने समाजका अध्यक्ष राईले बताउनुभयो । सो कार्यक्रममा एनआरएनए, विभिन्न समुदाय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।


