इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मिक्लाजुङ उद्योग वाणिज्य संघको प्रथम अधिवेशनबाट अमृत कुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश बस्नेत, उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा कोमल प्रसाद ढकाल, वाणिज्य सचिवमा गणेश भट्टराई, उद्योग सचिवमा विनोद दर्नाल तथा कोषाध्यक्षमा सचिन कुमार रौनियार चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा सुरेन्द्र कुमार दाहाल, उपेश पौडेल, चन्द्रकला भण्डारी, नारायण ढुङ्गाना र मुकेश शाह रौनियार चयन हुनु भएको छ ।

अधिवेशनले बुद्धिलाल निरौलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । समितिका सदस्यहरूमा शुलोचना दाहाल र दीपक ढुङ्गेल रहनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक रमेश दाहालले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङले उद्योग वाणिज्य संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बवी कुमार राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन संघका अध्यक्ष सेमन्तराज दाहालले प्रस्तुत गर्नु भएको थियो ।