इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको आयोजना र वडा कार्यालयको सहकार्यमा ‘नागरिक सुनुवाइ’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउँदै सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरको सभाध्यक्षता तथा वडाध्यक्ष कृष्ण कुमार महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय गरी करिब ५० जनाको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले स्थानीय शान्ति सुरक्षा, लागूऔषधको बढ्दो प्रयोग, घरेलु हिंसा, सवारी दुर्घटना न्यूनीकरण र साइबर अपराध जस्ता संवेदनशील विषयमा प्रहरीको ध्यानाकर्षण गराउँदै आफ्ना राय र सुझाव राखेका थिए । सहभागीका जिज्ञासा र गुनासोलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक कुँवरले नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई प्राथमिकतामा राखेर सुधारात्मक पहल गरिने प्रतिबद्धता जनाउनुभयो।

उहाँका अनुसार, जिल्ला प्रहरी कार्यालय सुनसरीसँग भएको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं. १४ बमोजिम प्रहरी र नागरिकबीचको आपसी विश्वास र सहकार्य अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमले स्थानीय स्तरमा प्रहरी प्रशासन प्रतिको जनविश्वास थप बलियो बनाउने विश्वास लिइएको छ ।