इटहरी । सुनसरीको इटहरीस्थित त्रियुगा होटलमा “परिवर्तनका लागि एकता” भन्ने मूल नाराका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, स्वास्थ्य तथा सामाजिक सचेतना सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा सामाजिक अभियन्ता, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मनिषा थापाको संयोजन तथा एड्भोकेसी अफिसर समोन जी.सी.को सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा समुदायले भोग्दै आएका बहुआयामिक चुनौतीबारे गहन विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै थापा र जी.सी.ले समाजको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन सचेतनामूलक अभियानलाई विद्यालय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलका क्रममा विशेषगरी मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार एसआर एचआर र स्वास्थ्य सेवामा पहुँचका विषय उठान गरिएको थियो। सहभागीहरूले महिनावारीका समयमा एलबिटी प्लस समुदायले भोग्नुपर्ने असहजता, जैविक लिङ्ग र लैङ्गिक पहिचानबीचको द्वन्द्व तथा स्वास्थ्य संस्थाहरूमा हुने विभेदपूर्ण व्यवहारप्रति चिन्ता व्यक्त गरे ।

राज्यका हरेक निकायमा समावेशी नीति निर्माण गरी यो समुदायलाई सहानुभूतिभन्दा पनि व्यावहारिक अधिकार र सम्मान दिनुपर्ने सहभागीहरूको माग थियो। सामाजिक रूपान्तरणका लागि एकता र सहकार्य अनिवार्य रहेको ठहर गर्दै यस्ता कार्यक्रमले समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास व्यक्त गरेका छन् ।