इटहरी । मुन्दुम पदमार्ग पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गर्दै पर्यटन नीति मसौदामाथि दुई दिने बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको सहकार्यमा उक्त कार्यशाला आयोजना गरिएको हो । कार्यक्रममा मुन्दुम पदमार्गलाई दिगो, समावेशी र प्रतिस्पर्धी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित तयार गरिएको पर्यटन नीति मसौदामाथि सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो । बदलिँदो विश्व परिवेश, दिगो विकासको आवश्यकता, डिजिटल प्रविधिको प्रयोग, जलवायु परिवर्तन तथा पर्यटकको रुचिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नीति निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
मुन्दुम पदमार्ग पर्यटन क्षेत्रले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, स्थानीय आर्थिक विकास तथा राष्ट्रिय पहिचान प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० पर्यटन गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग सम्बन्धी कार्यशाला कार्यक्रममा भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बु जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यी चार जिल्लालाई जोड्ने मुन्दुम पदमार्गले पूर्वी पहाडी क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यमका रूपमा विकास हुँदै गएको छ । करिब १५६ किलोमिटर लामो यस पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । किराँत समुदायको संस्कृति, इतिहास, परम्परा र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सकिने भएकाले यो पदमार्ग विशेष रूपमा परिचित छ ।
यस पदमार्गको अर्को विशेषता यसको सांस्कृतिक विविधता हो । किराँत समुदायका पुरातन परम्परा, मुन्दुम गीत–नृत्य, धार्मिक आस्था तथा मौलिक जीवनशैलीले यहाँ आउने पर्यटकलाई अनौठो अनुभव प्रदान गर्छ ।


