इटहरी । मदन आश्रित प्रतिष्ठान धनकुटाले आफ्नो सातौँ साधारण सभा तथा २०औँ बालस्थापना केन्द्र स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।

जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाले दुई दशकदेखि बालबालिकाको संरक्षण, शिक्षा, पालनपोषण तथा सामाजिक पुनःस्थापनामा पुर्‍याउँदै आएको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। प्रतिष्ठानकी अध्यक्ष शकुन्तला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेतले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानले बालअधिकार संरक्षण, असहाय तथा जोखिममा रहेका बालबालिकाको हेरचाह तथा शिक्षामा निरन्तर काम गरिरहेको बताउनुभयो।

आगामी दिनमा बालमैत्री कार्यक्रम, शैक्षिक सहयोग तथा सामाजिक सचेतनामूलक अभियानलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मदन आश्रित प्रतिष्ठानले अभिभावकविहीन, जोखिममा रहेका तथा संरक्षण आवश्यक भएका बालबालिकाका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले राज्य र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको धारणा व्यक्त गर्नुभयो। विशिष्ट अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले प्रतिष्ठानले विगत २० वर्षदेखि बालबालिकाको क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको सेवा सामाजिक दृष्टिले उदाहरणीय रहेको बताउनुभयो। उहाँले स्थानीय तह तथा सरोकारवाला निकायहरूले यस्ता संस्थालाई थप सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिष्ठानका सचिव कमल लामिछानेले संस्थाले आगामी दिनमा बालअधिकार, शिक्षा तथा संरक्षणसम्बन्धी कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने बताउनुभयो।कार्यक्रममा प्रतिष्ठानसँग आबद्ध व्यक्तित्व, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।