इटहरी। विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआइ पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ ।

ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा जिल्ला सदरमुकाम सल्लेरीमा आजदेखि तालिम सुरु भएको जनाइएको छ । तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सकृय पत्रकारहरु सहभागी छन् । तालिम उद्घाटन गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले सूचना तथा सञ्चार क्षेत्रमा एआइ प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार हुँदै गएको उल्लेख गर्दै यसको प्रयोगलाई राज्यले नीतिगत रूपमा व्यवस्थित र उत्तरदायी बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रविधिको सही प्रयोगले समाचार सम्प्रेषणलाई छिटो, प्रभावकारी र तथ्यपरक बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सुवास दर्नालले हिमाली जिल्लाबाटै प्रविधिमा आधारित पत्रकारिताको अभ्यास सुरु भएको बताउनुभयो । उहाँले विश्व पत्रकारिता तीव्र रूपमा डिजिटल र एआइ प्रविधितर्फ उन्मुख भइरहेका बेला नेपाली पत्रकारिता पनि त्यसबाट अलग रहन नसक्ने उल्लेख गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारलाई आधुनिक प्रविधिसँग जोड्न सके सूचना प्रवाहको गुणस्तरमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो । सीमित स्रोत–साधनका बीच काम गरिरहेका पत्रकारलाई डिजिटल सीपले थप सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

तालिमको सहजीकरण एआइ विज्ञ अजय शर्माले गरिरहनुभएको छ । आयोजकका अनुसार तालिममा एआइको प्रयोग, डिजिटल पत्रकारिता, समाचार सम्पादन, तथ्य परीक्षण, सामग्री उत्पादन तथा आधुनिक सञ्चार प्रविधिसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ । तालिममा सहभागी पत्रकारलाई समाचार लेखन तथा सम्पादनमा एआइको प्रयोग, डिजिटल उपकरणमार्फत सामग्री उत्पादन, सामाजिक सञ्जाल व्यवस्थापन, तथ्य प्रमाणीकरण र मल्टिमिडिया पत्रकारिताका विषयमा व्यावहारिक अभ्याससमेत गराइने जनाइएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक एआइ पत्रकारिता सम्बन्धी तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । सञ्चार क्षेत्र प्रविधिमैत्री बन्दै गइरहेका बेला स्थानीय पत्रकारलाई समयानुकूल सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका सचिव अन्जु कार्कीले जानकारी दिनुभयो ।