इटहरी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को भूमि समस्या समाधानका लागि प्रतिनिधिसभामा विशेष ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै  मोरङ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद गणेश कार्कीले  मोरङ–३ मा करिब ४० वर्षअघि गरिएको सट्टा भर्ना प्रक्रियाका कारण अहिले पनि हजारौँ नागरिक अन्यायमा परेको बताउनुभयो । 

उहाँले सट्टाभर्नाका क्रममा कतिपय स्थानमा अरूले बसोबास गरिरहेको जग्गा वितरण गरिएको, केही व्यक्तिले सूचीमा नाम राखे पनि नयाँ स्थानमा नबसी पुरानै ठाउँमा बस्दै आएको तथा वास्तविक गरिब नागरिकहरू समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले कतिपय अवस्थामा वास्तविक जोतभोग गर्ने व्यक्तिको नाममा नभई अर्कै व्यक्तिको नाममा धनीपुर्जा पुगेको, वर्षौँसम्म जग्गा र धनीपुर्जा फरक–फरक रूपमा बिक्री हुँदै आएको तथा वास्तविक पीडित र मालिक छुट्याउनै कठिन अवस्था सिर्जना भएको बताउनुभयो ।

अदालतको आदेश र स्थानीय तहको दृष्टिकोण समेत नमिल्दा समस्या झन् जटिल बनेको उहाँको भनाइ थियो । सांसद कार्कीले मोरङ–३ को भूमि समस्यालाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाउँदै यसले समाजमा द्वन्द्व र झगडाको बीउ रोपेको बताउनुभयो ।

उहाँले मोरङ–३ को समस्या देशका अन्य स्थानको जस्तै सामान्य ढाँचाबाट समाधान हुन नसक्ने उल्लेख गर्दै स्थानीय वास्तविकता बुझेर विशेष कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख मार्फत सदनलाई सम्बोधन गर्दै उहाँले मोरङ–३ का नागरिकहरूले लामो समयदेखि भोग्दै आएको पीडालाई बेवास्ता नगर्न सरकारसँग आग्रह गर्दै समस्या छिटो समाधान गर्न माग गर्नुभयो ।